Friday, November 13, 2015


मधेस समस्या समाधानका लागि भारतीय राजदूतले सुझाए तीन विकल्प


नेपालका लागि भारत 'अबसर' हो कि चुनौती खुला बहस गरौं 
२७ कात्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायले मधेस समस्या समाधानका लागि तीन विकल्प सुझाएका छन् । साथै उनले नेपालले भारतसँग कस्तो सम्वन्ध चाहेको हो, त्यसबारे खुला बहसका लागि  आह्वान गरेका छन् ।

एभिन्यूज टीभीलाई दिएको अन्तरवार्तामा भारतीय राजदूत राय निकै खुलेर प्रस्तुत भएका छन् ।  राजदूत रायले मधेस समस्या राजनीतिक भएको पटकपटक दोहोर्याउँदै त्यसलाई राजनीतिकरूपमै समाधान गर्नु पर्ने बताए । साथै उनले यसका लागि तीन विकल्प रहेको समेत बताए।
‘पहिलो विकल्प यस्तै छाडिदिने । ६/८ महिना चल्छ, आन्दोलनकारीहरु आफैं थाक्छन् र पछि हट्छन् ।’ राजदूत रायले भने-दोस्रो, बल प्रयोग गरेर आन्दोलन दबाउने र तेस्रो वार्ता र सम्वादबाट समस्याको समाधान खोज्ने ।’

उनले अघि भने- ‘भारत चाहन्छ कि वार्ता र सम्वाद होस् र त्यसबाट निकास निस्कियोस् ।’ अहिले समाधान गर्न जति सजिलो छ भोलि त्योभन्दा निकै जटिल हुनसक्ने उनको धारणा छ ।
संविधान जारी गर्दाको दुई तिहाइ बढी बहुमत वैधानिक र प्राविधिक रुपमा सहि भएको तर, यसबाट मात्र जाँदा समस्या हुन सक्छ भन्ने आफूहरुलाई लागेको उनले बताए ।

निर्वाचनमा निकै कम सिटमात्र जितेका मधेसबादी दलले आन्दोलन गरिरहेको हुादा उनीहरुले कसरी जनमतको प्रतिनिधित्व गर्छन भन्ने प्रश्नमा राजदूतले भने- ‘मलाई लाग्छ जनता आन्देालित भएका छन् । जे सुकै कारणले होस्, त्यहाँका जनता आन्दोलित छन् । मधेसी मात्र होइन, सबै आन्दोलित छन् । यसको अर्थ समस्या छ, त्यसको समाधान गर्नुपर्छ ।’

समाधान त्यति कठिन नभएको र सबैले छिट्टै समाधान होस् भन्ने चाहेको उनले बताए । राजदूत रायले भने-‘मलाई आशा छ छिट्टै समाधान हुन्छ ।’
सरकार र मधेसी मोर्चाबीच सुरु भएको वार्ताप्रति आफू निकै आशावादी रहेको बेला वीरगञ्ज घटना भएको र यसले केही नकारात्मक भूमिका खेलेको राजदूत रायले बताए ।
आन्दोलनमा भारतको संलग्नता स्वीकार गर्दैनौं 
वीरगञ्जमा भारतीय नागरिक मारिएपछि मधेस आन्दोलनमा भारतीय नागरिकको संलग्नता पुष्टि भएन र भन्ने प्रश्नमा भारतीय राजदूत रायले भने- उनी १९ वर्षका निर्दोष युवक हुन् । उनलाई पछाडिबाट गोली लागेको छ । र, गोली लाग्दैमा आन्दोलनमा संलग्न भयो भन्ने कुरालाई हामी स्वीकार गर्न सक्दैनौं ।’
साथै उनले वीरगञ्जमा के भएको हो भन्नेबारे सरकारसँग जानकारी मागेको बताए ।
नेपाल र भारतबीच खुला सीमाका साथै बहुआयामिक सम्वन्ध रहेको भन्दै उनले अहिले मात्र होइन, राणा शासन, पञ्चायत शासन लगायतविरुद्ध भएको आन्दोलनमा पनि सीमा क्षेत्रका भारतीय नागरिकले आन्दोलनकारीलाई खाना खुवाउने गरेको बताए ।

यहाँ जे गरेपनि विरोध हुन्छ
भारतीय राजदूत रायले पछिल्लो समय नेपालमा बढ्दो भारतविरोधी भावनामा पनि खुलेर कुरा गरेका छन् ।
भूकम्पको बेला भारतले आफ्नै देशमा भूकम्प गएको झै गरेर मन खोलेर सहयोग गर्दा पनि विरोध भएको र अहिले पनि भइरहेको भन्दै उनले भने, कहिले काँही त मलाई लाग्छ यहाँ जे गरेपनि विरोध हुन्छ । यहाँको मानसिकता यस्तो भएको छ ।’
प्रदेशको सीमांकनमा भारतको चासो कोशी र कर्णाली नदीसँग जोडिएको आरोपलाई राजदूतले अस्वीकार गरे । नेपालसँग भारतले ६० भन्दा बढी वर्षदेखि जलस्रोतमा सहकार्य गरिरहेको भन्दै उनले अहिलेसम्म केही हात नलागेको बताए ।

एक पक्षले चाहँदैमा केही नहुने भन्दै उनले भने-‘जलविद्युतको ड्याम त पहाडमा बन्छ । समथरमा बन्दैन । मैले यो बुझेको छैन किन मानिसहरु भारतले कोशी र कर्णाली चाहन्छ भन्छन् ।’
जलस्रोतलाई इमोशनल विषय बनाइएको र राष्ट्रियतासँग समेत जोड्ने गरिएको भन्दै उनले भने- नेपालमा यस्तो मानसिकता बनेको छ की हामी केही गरौं भनेर प्रस्ताव गर्दा भारतले केही चालवाजी त गरिरहेको छैन भन्ने धारणा बनिहाल्छ ।’
जलविद्युतलाई व्यवहारिक रुपमा हेर्नु पर्ने भन्दै उनले भने-‘आजकल पनि राष्ट्रियता र स्वाधिनताको नारा लागेको छ । कहिँ न कहिँ तपाईहरुको राष्ट्रियता जोडिन्छ । मलाई लाग्छ भारतसँग कस्तो सम्वन्ध राख्ने खुला बहस हुन जरुरी छ ।’
भारतीय राजदूत रायले राजनीतिक स्वार्थका लागि यस्तो एजेण्डा उठाउने र त्यो पुरा भएपछि छाड्ने गरेको भन्दै उनले अब दुई पक्षबीच खुला र गम्भीर वार्ता हुनु पर्ने बताए ।
‘अब समय आयो कि नेपाल भारतलाई कुन आखाँले हेर्छ ? दलहरुले कसरी हेर्छन् ? भारत एक अबसर लाग्छ कि थ्रेट’ उनले भने- ‘ हामीवीचका यी सारा मुद्दालार्इ कार्पेट मुनी राख्नु हुँदैन । खुला बहस गर्नुपर्छ ।’
नाकाबन्दी तथा आपूर्ति अवरोध कहिले खुल्छ भन्ने प्रश्नमा भारतीय राजदूत रायले भने-यो तपाईहरुको हातमा छ । जब वीरगञ्ज रक्सौलको अवरोध हट्छ, आफैं खुल्छ ।
- online khabar

Thursday, November 12, 2015


प्रधानमन्त्रीले भने-जनतालाई धरधर रुवाउने काम नगरौं


'नोट गरेर राख्नोस् सबै माग पूरा हुन्छ'
२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जायज मागहरु पूरा गर्न सरकार तयार रहेको भन्दै नेपाली जनतालाई रुवाउने काम नगर्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।
नेपाल राष्ट्रलाई असर गर्ने तथा नेपाली जनताको शीर निहुराउने काम गर्ने नगर्ने उनले बताए । नेपाल सम्बतको अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने- सानो देश भए पनि कहिल्यै दासता स्वीकार गर्न बाध्य भएन । यो स्वाधीन, सार्वभौमसत्ता सम्पन्न देश हो । यो सगरमाथाको देश हो । यो शीर निहुराउन जान्दैन ।’

मधेस केन्दि्रत दलको आन्दोलनलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले चिनेजानेका पि्रय साथीहरु बाहिर गएर अलिअलि फट्याकफुटुक गर्न थालेको बताए । उनले भने- ‘म आग्रह गर्न चाहन्छु, यो सरकार उदार छ र सबैलाई साथ लिएर, सबैको कुरा सुनेर जायज माग पूरा गरेर अगाडि जान तयार छ ।’

उनले अघि भनेे- तर, एउटा कुरा भन्न चाहन्छु । लाखौं मानिस एकातिर भन्दैछन्, दुईजना मान्छे निस्कियो, म पनि नेपाली हुँ मैले भनेको अनुसार हुनुपर्छ भन्यो भने के गर्ने ?
‘सबैले ग्यास चाहिन्छ भन्छ, पेट्रोल चाहिन्छ भनेको तर, केही गएर बाटो छेकको उनले बताए । ‘त्यो पनि नेपाली नै भनेर मानिदिनुपरेको छ’ ओलीले भने- ‘के चाहियो ? म एकदम लचिलो छु । जायज माग सबै पूरा गर्छु, बसौं कुरा गरौं, तर, नेपाली जनतालाई धरधर रुवाउने काम नगरौं ।’

नेपाल राष्ट्रलाई असर नगर्ने, शीर ननिहुराउने नेपाली जनतालाई नोक्सान नपर्ने सबै काम गर्न तयार रहेको ओलीले बताए । उनले भने-‘नोट गरेर राख्नुभए पनि हुन्छ, सबै माग पूरा हुन्छ ।’
प्रधानमन्त्री ओलीले कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरे । स-साना कुरा लिएर कुद्ने बेला नभएको भन्दै उनले भने-नाकाबन्दीले तबाह गरेको छ । यसबाट अगाडि बढेर एक जुट भएर राष्ट्र निर्माणमा जुट्नुर्छ । कहाँ पाइन्छ, त्यहाँ निउ खोज्ने समय छैन ।’
कांग्रेसलाई के भो, के भो छुट्टै पिर्का लिएर परतिर बसेको भन्दै उनले साथमै लिएर अघि बढ्ने बताए । उनले भने- ‘कांग्रेसले त्यो गर्न मिल्दैन । र, कारण नै छैन । सरकारमा सामेल भएर देश बनाउनुपर्छ ।’
- onlinekhabar